महेन्द्र मावि छतिवनमा संस्मरण लेखन सहजीकरण

तु खबर संवाददाता
२०८१ मंसिर २३, आईतवार ०८:३२

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका—४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रा संस्मरण सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मङ्सिर २१ गते आयोजित सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका गरी ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । झरना–महेन्द्र बाल साहित्य समितिकी अध्यक्ष प्रदिना खड्काको सभाध्यक्षतामा आयोजित सो कार्यक्रमको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गरेका थिए ।

सहजीकरण पश्चात् स्थलगत संस्मरण प्रतियोगितासमेत आयोजना गरिएको सो कार्यक्रममा आधारभूत तहतर्फ रीतिका लामिछाने, माध्यमिक तह (कक्षा ९—१०) तर्फ मुनुमाया स्याङ्बो तथा माध्यमिक तह (कक्षा ११—१२) तर्फ अनिल बल उत्कृष्ट भएका थिए ।

सो कार्यक्रममा विद्यालयका सहायक प्रअ श्री उद्धवप्रसाद सापकोटा तथा शिक्षकहरू खेमबहादुर विक ,पङ्कजकुमार यादव, अनु राई, सुभद्रा दाहाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको आवश्यक प्रबन्ध विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक गायत्री रुपाखेतीले गरेकी थिइन् ।