हेटौंडामा महिला पत्रकारिताको विकासको निम्ति क्षमता अभिवृद्धि कार्यक्रम

तु खबर संवाददाता
२०८१ मंसिर ५, बुधबार १३:५४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजनामा गरेको  हो । कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीयो) तिर्थराज चिलुवालको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा प्रमुख अतिथी चिलुवालले  आचारसंहिता पालना गरि सत्य-तथ्य समाचार लेख्न संचारकर्मीहरुलाई आग्रह गरे । उनले नीति निर्माण तहमा पुग्दा आगामी कार्यक्रम तथा योजना आम जनतासमक्ष समाचारको माध्यममार्फत्  पुर्याउनु  पुरुष पत्रकारको जतिनै महिला पत्रकारको पनि उत्तिकै भूमिका महत्त्वपूर्ण हुने बताए ।

संचार मन्त्रालयका प्रशासन शाखाका प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्ग बागमती प्रदेशकी उपाध्यक्ष नानीमाया कार्की (सम्झना), महासचिव कृष्ण सारु मगर, पत्रकार महासङ्ग मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी, मकवानपुरका प्रहरी नायब उपरीक्षक स्यामु अर्याललगायत मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो क्रममा मन्त्रालयकी उपसचिव एवम् सुचना अधिकारी महन्थ बास्तोलाले मन्त्रालयको तर्फबाट स्वागत मन्तव्य तथा प्रस्तुतीकरण दिएकी थिइन् ।

यस्तै, राष्ट्रिय समाचार समिति (रासस) मकवानपुरकी संवाददाता अञ्जली थापाले महिला पत्रकारहरुले क्षमता अभिवृद्धिका लागि के गर्ने, नेपालमा महिला पत्रकारको अहिलेको अवस्था लगायत आधारभुत कुराको जानकारी दिएकी थिइन् ।

यस्तै, कार्यक्रममा प्रेस काउन्सिलको अनुसन्धान तथा अनुगमनकी प्रमुख सञ्चिता घिमिरेले श्रमजिवी पत्रकार, पत्रकार महिलाको इतिहास, मिडियामा महिला पत्रकार किन आवश्यक छ ?, मिडियामा आकर्षण किन छ ?, सम्रगता पत्रकारिताका समस्या र चुनौती लगायतको बारेमा प्रस्तुतीकरण दिएकी थिइन्  ।