पर्यटकका रोजाई शेफोक्सुण्डो ताल, हेटौंडाका २१ जना युवा एकैपटक पुगे
मकवानपुर । दशैं, तिहार, छठ पर्व सकिएलगतै शेफोक्सुण्डो ताल घुम्न जानेको संख्या बढ्दो छ । कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लामा अवस्थित उक्त तालमा आन्तरिक पर्यटकको चलहपहल बढेको हो ।
आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित हेटौंडा एडभेन्चर क्लबका युवाहरु पनि त्यहाँ पुगेका छन् । क्लबका २१ जना युवाहरु ११ मोटरसाइकलमार्फत् त्यहाँ पुगेको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिए ।
नेपालकै सबैभन्दा गहिरो तालको रुपमा चिनिने उक्त ताल ३ हजार ६ सय ११ दशमलव ५ मिटरको उचाईमा रहेको छ । उक्त तालको भ्रमणका लागि एकै स्थानबाट यतिधेरै संख्यामा पुगेको सम्भवतः यो पहिलो चोटी रहेको स्थानीय होटल व्यवसायी बालकुमारी गुरुङले बताइन् ।
क्लबका अध्यक्ष सुवेदीले क्लबले वार्षिक रुपमा मोटरसाईकलमार्फत् भ्रमणको आयोजना गर्दै आएको बताए । कार्तिक २१ गतेबाट सुरु भएको भ्रमण कार्तिक २९ गते सकिने उनले बताए ।
भ्रमण टालीले यससँगै शेफोक्सुण्डो राष्टिय निकुञ्ज लगायत स्यार्पु ताल ,पोखरा, फेवाताल, बागलुङको कालिका मन्दिर र रुकुमकोटको कमल पोखरी लगायतको भ्रमण गर्ने जनाइएको छ ।
उक्त क्लबले यसअघि असोज ५ गते प्रथम हेटौंडा सम्पदा यात्राको समेत आयोजना गरेको थियो ।
