पोखरीमा कार डुब्दा दुई जना बेपत्ता, गोताखोर परिचालन
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज विहान कार डुब्दा दुई जना बेपत्ता भएका छन् ।
जिल्लाको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जना बेपत्ता भएको सर्लाही प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।
उक्त कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।
बेपत्ता उनीहरुको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको छ । प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरेको जनाइएको छ ।
उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
