हेटौंडामा हुने लाईभ सेलो साँझ कार्यक्रमको तयारी पूरा

तु खबर संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १७:४३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि कार्तिक ९ गते हुने लाईभ सेलो साँझ–२०८१’ कार्यक्रमको तयारी पूरा भएको छ ।

ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजनामा हुन लागेको एतिहासिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रालिका संचालक तथा कार्यक्रम संयोजक विक्रम लुङबाले जानकारी दिए ।

यसअघि असोज १९ गते हुने भनिएको उक्त कार्यक्रम विषेश कारणबस् स्थगित गरिएको थियो । निरन्तर वर्षाका कारण देशव्यापी रुपमा आएको विपत्ति र भौतिक तथा मानवीय क्षतिले सिंगो देश नै शोकमा डुबेको बेला यस्तो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु समय सान्दर्भिक नदेखिएकोले कार्यक्रम सारिएको संयोजक लुङबले बताए ।

कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क बापत टिकटको एक हजार रुपैयाँ तय गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहानेको लागि हेटौंडाको साईला सप्लायर्स तामाङ पसल र तिबेतियन लाफिङ हाउसमा टिकट उपलब्ध रहेको उनले बताए ।

यस्तै, सोही दिन कार्यक्रम स्थलमा पनि टिकट उपलब्ध हुने बताइएको छ । उनले टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराका साथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गीत–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ र गायिका सुमिना लोको प्रस्तुती रहने आयोजकले जनाएको छ ।