हेटौंडा जेसीजको वक्तृत्वकला प्रतियोगितामा विवेक प्रथम
मकवानपुर । जेसीआई हेटौँडाले जेसीज सप्ताहको दोस्रो कार्यक्रमको रुपमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने उत्कृष्ट वक्ता घोषित भएका छन् । मंगलबार हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा भएको वक्तृत्वकलामा सहभागी ११ जना मध्ये न्यौपानेले प्रथम स्थान हासिल गरेका हुन् । न्यौपाने लगातार तेस्रो वर्ष प्रथम भएका हुन् ।
प्रतियोगितामा किरण आले दोस्रो भए भने छोइसाङ लामा तृतीय भए । “कार्य, प्रतिबिम्ब, रुपान्तरण” शीर्षकमा वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए । जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले आफ्नो कार्यकालको नारा नै “कार्य, प्रतिबिम्ब, रुपान्तरण” बनाउनुभएको छ । युवा पुस्ताको कार्यले आकार अर्थात् एउटा प्रतिबिम्ब प्राप्त गर्नुपर्ने र त्यसले समाजमा रुपान्तरण ल्याउने अध्यक्ष श्रेष्ठको भनाई छ ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः ३, २ र १ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेसीज सप्ताहको समापन समारोहमा पुरस्कृत गरिने जनाइएको छ । वक्तृत्व कलाको प्रमुख निर्णायकमा पूर्वअध्यक्ष गणेश कुमार श्रेष्ठ, निर्णायकमा पूर्वअध्यक्षहरु कुश कुमार रिजाल र दीपक राज मिश्र रहेका थिए ।
जेसीआई हेटौँडाका अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षता तथा पूर्वअध्यक्ष अशोक शाक्यको प्रमुख आतिथ्यमा वक्तृत्वकला प्रतियोगिता भएको हो । वक्तृत्वकला प्रतियोगिता किरण आलेको संयोजकत्वमा भएको हो ।
