दशैँमा दुई लाख ३७ हजारभन्दा बढीले गरे हवाई यात्रा

तु खबर संवाददाता
२०८१ आश्विन ३०, बुधबार १६:५३

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।

सो अवधिमा आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेको विमानस्थल कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

दशैँको असोज २४ गते (फूलपाती) देखि पूर्णिमाको अघिल्लो दिनसम्म (असोज २८ गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेको उनले बताए ।

निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए ।