सिस्नेरी पहिरोः मृतक खेलाडीको परिवारलाई आठ लाख दिने एन्फाको निर्णय

तु खबर संवाददाता
२०८१ आश्विन २१, सोमबार १०:२८
file-photo

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई आठ लाख दिने निर्णय गरेको छ ।

एन्फाको आइतबार बसेको बैठकले मृतक ६ जना खेलाडीको परिवारलाई जनही आठ–आठ लाख दिने निर्णय गरेको हो ।

असोज १२ गते अविरल वर्षासँगै आएको पहिरोमा परी इन्द्रसरोवर–३, सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिक्दै आएका ६ खोलाडीको मृत्यु भएको थियो । उक्त पहिरोमा परी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको मृत्यु भएको हो ।

यस्तै, एन्फा बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी, घटनास्थलमा मृत्यु भएका ६ जना खेलाडीको शालिक निर्माण गर्ने र थप राहतको लागि फिफा र एफसीसँग पनि अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तै, एन्फाले बालकहरुको मृत्युको घटना छानविन गर्न केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजकत्वमा तीन सदस्यीय समिति गठन पनि गरेको छ । उक्त समितिमा एन्फा सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई रहेका छन् ।