कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
साथै महाशाखाका अनुसार, बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।