पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसममा फेरबदल

तु खबर संवाददाता
२०८२ फाल्गुन १४, बिहीबार १०:२९
file-photo

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । तराई भूभागमा भने मौसम प्रायः सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ । हिमाली भूभागमा सामान्यतया बदली, पहाडी भूभागमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।