पश्चिमी वायुको प्रभावः विहानैदेखि केही क्षेत्रमा वर्षा

तु खबर संवाददाता
२०८३ बैशाख १३, आईतवार ०९:४१

पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशको मौसम अवस्था बदली भएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली देखिएको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ। केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो पनि हिमाली र पहाडी भूभागमा बदली कायम रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यसैबीच देशका अधिकांश भागमा तापक्रम क्रमशः बढ्दै जाने संकेत देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोंच क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।