देशका अधिकांश स्थानमा आज बादल, केही ठाउँमा वर्षा
काठमाडौं । आज देशका अधिकांश स्थानमा साधारणतया देखि आंशिक बदली रहने मौसमको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न स्थानमा बादल लाग्ने र केही ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो।
बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। संखुवासभाको खाँदबारीमा ५७.६ मिलिमिटर वर्षा मापन भएको छ भने तुम्लिङटारमा ५२ मिलिमिटर, तार्केघाटमा ३०.६ मिलिमिटर, इलामको कन्याममा ४३.४ मिलिमिटर तथा हिमाली गाउँ क्षेत्रमा ४८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशभर मौसमी गतिविधि बढ्ने जनाएको छ। आज राति पनि देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यता पर्याप्त वर्षा हुन नसक्दा काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ। विभागका अनुसार उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहनु र पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको छैन। यसका कारण वायुमण्डलको तल्लो तहमा प्रदूषण सञ्चित भई केही दिनदेखि देशका धेरै भू-भागमा तुवाँलो देखिएको छ।
तुवाँलोका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ। साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमार्फत नियमित रूपमा अद्यावधिक जानकारी उपलब्ध गराइने जनाएको छ।
