कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ भाद्र १३, बिहीबार ०८:४६
file-photo

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने गरी बोलाइएको हो ।

केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक आह्वान गरेका हुन् ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ ।

सभापति देउवाले मंगलबार पनि दुई उपसभामुख र दुई महामन्त्रीलाई छलफलका लागि बोलाएका थिए । मंगलबारको छलफलमा सहमति नभएपछि उनले आज पनि बैठकमा बोलाएका हुन् ।

महामन्त्री शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् ।

यसैगरी, अर्का महामन्त्री थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा गत साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ गते बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गतेसम्मका लागि बैठक स्थगन गरिएको थियो ।

सहमति नजुटेपछि १२ गते बोलाइएको केन्द्रीय समिति  बैठक पनि स्थगित गरी यही भदौ १६ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।