कांग्रेस नेता दाहालले किने महाबिर पुनका एक सय पुस्तक
मकवानपुर । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यसहित नेपाली कांग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहालले महाबिर पुनका एक सय पुस्तक खरिद गरेका छन् ।
वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उद्देश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनको एक सय थान पुस्तक दाहालले शुक्रबार खरिद गरेका हुन् ।
नेपाली ७५० रुपैयाँ मूल्य रहेको पुस्तक विभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तिलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताए । यसै आफ्नो व्यक्तिगत खर्चलाई कटाएर नेपालमै केही गरौं भन्ने युवापंक्तीलाई अध्ययनका लागि दिने सोच रहेको उनले बताए ।
नेपाल र नेपालीका लागि केही गर्छु भन्दै देश भर हिँडिरहेका पुनलाई हाम्रो तर्फबाट पनि हौसला दिनुपर्ने भन्दै आफुले करिब ७५ हजार रुपैयाँ बराबरको लागतमा पुस्तक खरिद गरेको उनले जानकारी दिए ।
यस्तै, किताब खरिद गरेका दाहाललाई पुस्तक हस्तान्तरण गर्दै युवा पंक्तिमा यो खालको सोच हुन जरुरी रहेको वैज्ञानिक पुनले बताए ।
सरकारले २०४९ सालमा बन्द गरेको कृषि औजार कारखानामा आबिष्कार केन्द्रको १ करोड रुपियाँ मर्मतको क्रममा फसिसकेको छ, त्यहाँबाट नेपाली माटो सुहाउँदो कृषि औजार उत्पादलाइ अघि बढाउनका लागि पुस्तक बिक्री अभियान थालेको वैज्ञानिक पुनले बताए ।
