आज सातै प्रदेशमा भारी वर्षा हुने

तु खबर संवाददाता
२०८१ भाद्र ६, बिहीबार ०९:२७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।

महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ ।