संसदीय प्रक्रियामा भएका कमजोरीलाई सुधारौँः सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा देखा परेका कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएकोसमेत उल्लेख गरेका छन् ।
उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताए ।
संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रुपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा उल्लेख गरे ।
संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको धारणा छ ।
