आन्दोलनका कारण प्रतिनिधि सभा बैठक स्थगित

तु खबर संवाददाता
२०८१ असार ५, बुधबार १८:४९
file-photo

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । कर्मचारीहरूको आन्दोलनका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।

यसअघि आज ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर, सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।

त्यसपछि सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर, प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाएका थिए ।

सांसदहरूले ‘ब्ल्याक आउट’ मा सदन नचलाउन आग्रह गरेपछि सभामुखले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएर पूरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै बैठक स्थगित गरेका हुन् ।