असार दोस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा कांग्रेस

तु खबर संवाददाता
२०८१ जेष्ठ २७, आईतवार १७:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार दोस्रो साता बोलाउने तयारी गरेको छ ।

गत फागुन (७—१०) मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन संशोधनसहित पारित गर्न कर्यासमिति बैठक बोलाउन लागेको जनाइएको छ ।

जेठ १७ मा बसेको पदाधिकारी बैठकमा प्रतिवेदन संशोधन गरी असार दोस्रो साता केन्द्रीय समिति बैठक राखेर पारित गराउने सझदारी भएको उपसभापति धनराज गुरुङले जानकारी दिए । उनका अनुसार, उक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट संशोधनसहित अनुमोदन गर्ने गरी पारित भएको थियो ।