प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसद्अन्तर्गत पर्ने प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ ।
बैठक बिहान ११ बजे सुरु हुने गरी आह्वान गरिएको छ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।
यस्तै, आजको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार, बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।
