निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा समस्या थपियोः प्रधानमन्त्री प्रचण्ड

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १५:४५
file-photo

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरुले सम्झौता अनुसारको गुणस्तरीय काम नगर्दा समस्या भएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई हेटौंडामा आज सम्बोधन गर्दै उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुसार योजनाको काम नगर्दा राज्यलाई थप बोझ बढ्दै गएको समेत बताए ।

उनले भने, ‘राज्यको कमजोरीका कारण व्यवसायीले भोग्नुपरेको अप्ठ्यारा र कठिनाइहरुप्रति सरकार गम्भीर छ । तर, निर्माण व्यवसायीहरुले सम्झौता अनुसार काम नगरेकै कारण आयोजनाको काम समयमै सम्पन्न हुन सकेको छैन । सम्झौताअनुरूप गुणस्तरको काम नहुने र निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिने गरेको छ ।’

उनले आफुले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालयलाई राज्यपक्षबाट भएका कमिकमजोरी न्यूनिकरण गर्दै लैजान निर्देशन दिएको समेत बताए ।

‘सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजनाहरू सहमतिको आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ,’ उनले भने, ‘राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायीहरू अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयवधिभित्रै सम्पन्न हुन नसकेका समस्याहरूको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।’

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुनहरू बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनहरुलाई विकासमैत्री बनाउँदै लगिने बताए ।

उनले निर्माण व्यवसायीको बक्यौता रकम चाँडै भुक्तानी हुने समेत बताए ।