माओवादी केन्द्र मकवानपुर इन्चार्जमा गौतम
मकवानपुर । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका १३ जिल्ला, दुई महानगर र एउटा उपमहानगरकोे इन्चार्ज तोकेको छ ।
बिहिबार आन्तरिक सर्कुलर जारी गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले मकवानपुर जिल्ला इन्चार्जमा विजय गौतमलाई जिम्मेवारी दिएको छ भने हेटौँडा उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारी प्रल्हाद लामिछानेलाई दिइएको छ ।
गौतम युवा नेताको रुपमा परिचित छन् । मन्त्रीको सचिवालयमा रहेर काम गर्ने क्रममा भद्र युवा नेताको परिचय बनाउनु भएका गौतम मकवानपुरको बकैया गाउँपालिकाका स्थायीवासी हुन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य गौतम विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको उपाध्यक्ष समेत भएका छन् ।
यसअघि मकवानपुर जिल्ला इन्चार्ज बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तान थिइन् । माओवादी केन्द्रको विधान सम्मेलनले केन्द्रीय समितिमा रहेर सार्वजनिक पदमा बसेकाहरु पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजार, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरपालिकामा मुक्तिनारायण प्रधान र ललितपुर महानगरमा राजकाजी महर्जनलाई इन्चार्ज तोकेको छ ।
