नारायणी अस्पतालमा नवजात शिशु छाडेर आमा बेपत्ता

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार १७:४९

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता भएकी छिन् ।

छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आफूले जन्माएको नवजात शिशु अस्पतालको बेडमै छाडेर एक महिला बेपत्ता भएकी हुन् ।

नारायणी अस्पतालका अनुसार अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर शिशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । अहिले शिशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको छ ।

अस्पतालका अनुसार शनिबार प्रसूति गराउनका लागि वीरगंज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन् । ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ ।