मकवानपुरमा अफिम र गाँजा फँडानी

तु खबर संवाददाता
२०८० माघ २३, मंगलवार ०८:५१
फाइल फोटो ।

हेटौंडा । मकवानपुरको ग्रामीण क्षेत्रमा लगाइएको अबैध लागूऔषध अफिम तथा गाँजा फँडानी गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिएको छ ।

प्रहरीले १० दिनको अप्रेसनमा ६२ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम र १६ कठ्ठामा लगाइएको गाँजा फँडानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मकवानपुरको कैलाश गाउँपालिका र थाहा नगरपालिकामा लगाइएको अफिम तथा गाँजा फँडानी गरिएको हो । जिल्ला प्रहरी कार्यालयको मातहतमा ईलाका प्रहरी कार्यालय पालुङ र मनहरीको प्रहरी टोलीले अफिम र गाँजा फँडानी गरेको प्रहरी उपरीक्षक रिजालले बताए ।

मकवानपुरको ग्रामीण क्षेत्रमा अबैध लागूऔषध गाँजा र अफिम खेती भइरहेको प्रहरीले बताएको छ । ग्रामीण क्षेत्रमा लुकिछिपी निषेधित लागूऔषध खेती गर्ने किसानलाई पनि चेतावनी दिने गरिएको प्रहरीले जनाएको छ । तर, ग्रामीण क्षेत्रका किसानले भने पाखो बारीमा अन्नबाली तथा तरकारी खेती राम्रो नभएका कारण गाँजा र अफिम लगाइएको बताएका छन् ।