बागमती प्रदेश सभामा एउटा विधेयक पेस
मकवानपुर । आज अपराह्न बसेको बागमती प्रदेश सभा बैठकमा एउटा विधेयक पेस भएको छ । बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस भएको हो ।
प्रदेश सरकारले ल्याएको विनियोजित बजेटमाथि छलफल गर्न बिहान ११ बजे बोलाइएको प्रदेश सभा साढे ३ घण्टा ढिला गरी साढे २ बजेबाट सुरु भएको थियो । सो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले उक्त विधेयक पेस गरेका हुन् ।
मन्त्री लामाले विधेयक पेस गरेसँगै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि असार १९ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।
