‘सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार छ’

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार १८:१३

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सञ्चार माध्यमको वृद्धि विकासका लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् ।

रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।

मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका र योगदान रहेको भन्दै उनले सञ्चार माध्यम नै प्रजातन्त्रको ठूलो सम्पत्ति भएको उल्लेख गरे ।

पछिल्लो समय नेपालमा सञ्चार माध्यमले धेरै फड्को मारेको उनले बताए । सञ्चार माध्यमले दिने सूचना सत्य–तथ्य र विश्वसनीय हुनुपर्ने सुझाव दिनुपर्नेमा जोड दिए ।

यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूगोल र बजार अनुसारको मिडिया हुन जरुरी रहेको औंल्याए । पछिल्लो समय सञ्चार माध्यमको दर्ता र सञ्चालन बढ्दो क्रममा रहेको भन्दै उनले यस विषयमा सोच्नुपर्ने बेला आएको बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले समाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताए । पत्रकारसहित आम सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।