पूर्व गृहमन्त्री खाँणको बयान आजै सक्ने तयारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान हाल जारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनको बयान भइरहेको हो ।
सरकारी वकिलको कार्यालयले सोमबार पनि खाँणको बयान लिएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाँणले बयान गर्न नसक्ने भनेपछि बयान रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।
खाँणको बयान मंगलबार पुरा गर्ने प्रहरीको तयारी छ । गत बैशाख २८ गते बुधबार पक्राउ परेका खाँणलाई बैशाख ३१ गते आईतबार मात्रै अदालतमा उपस्थित गराएको थियो । अदालतले ४ दिन म्याद थप गरेसँगै सोमबारबाट उनको बयान लिएको हो ।
उक्त प्रकरणमा हालसम्म पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री खाँण र पूर्व सभासद आङटावा शेर्पासहित १४ जनालाई पक्राउ गरिएको छ ।
