बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार ०८:४५

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले मंगलबार दुई वटा विधेयक पारितको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

मंगलबार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीबाट पारित भएको हो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिठान ऐन २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र आन्तरिक तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै, बैठकमा प्रदेश सभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावलीको नियम ११० को उपनियम १ लाई प्रस्तुत विधेयकको सम्बन्धमा निलम्बन गरियोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।

उक्त प्रदेश सभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले राष्ट्रिय सरोकारको विषयमा आ–आफ्नो धारण राखेका थिए । उनीहरुले आगामी बजेट तर्जुमा गर्दा जनमुखी, जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझावहरु दिए ।

बैठकमा सांसदहरुले काठमाडौंमा सोमबार राति भएको फ्याई दुबई उडानको क्रममा भएको आकस्मिक दुर्घटनाबाट सबै यात्रुहरु सकुशल भएकोमा धन्यवाद ज्ञापन गर्दै प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरे अब आगामी दिनहरुमा त्यस्ता घटनाहरु दोहोरिन नदिन र उडान गर्नुभन्दा अगाडि पूर्ण प्राविधिक जाँच गरेर मात्र उडान गर्न दिनुपर्नेमा जोेड दिए ।

प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतिपातिको लागि किसानहरुलाई शुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानहरुले उत्पादन गरेको बिउँबिजन, हरियो तरकारी र फलफुललाई शितभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पुर्याउने व्यवस्था प्रदेश सरकारले दीर्घकालिन योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको भनाई छ ।

यसैगरी, डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपंक्षिहरुलाई परेको क्षति प्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताएका छन् ।

बैठकमा स्वदेशी लगानी मै सवारीसाधन उत्पादन गरी उपभोक्ताहरुलाई शुलभ मुख्यमा वितरण गर्दै गरेको तर, संघीय सरकारले उक्त उद्योगलाई राज्यको कानून बमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन नगरेको दुःख व्यक्त गरेका थिए ।