विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडपः १२ जना घाइते
काठमाडौँ । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो । प्रहरीका अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवानसमेत घाइते भएका छन् । यता आन्दोलनकारी तर्फ पनि छ जना घाइते भएका छन् ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगा हानेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।
प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने भन्दै सांसद्हरुलाई घेराउ गर्न कार्यक्रमस्थलमा पुगेका थिए ।
अहिले प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
