सभामुखको निर्वाचन आज हुँदै

तु खबर संवाददाता
२०७९ माघ ५, बिहीबार ०८:३३
file-photo

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख निर्वाचनका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक रहेका छन् ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप सभामुख र उपसभामुखको निर्वाचन गर्न लागिएको जनाएको छ ।