बकैयामा युवा उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण सुरु
मकवानपुर । बकैया गाउँपालिकाका कृषकहरुको लागि कृषि उद्यमशीलता विकास सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ ।
गाउँपालिकाको आयोजना र बकैया जेसीजको समन्वयमा स्थानीय कृषकहरुलाई कृषि उद्यमशीलतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले असार ४ र ५ गते गरी दुई दिन अभिमुखिकरण आयोजना गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैयालाई कृषि तथा पशुपालनको माध्यमबाट समृद्ध बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बताए ।
मासिक ४० हजार लिटर दुध उत्पादन हुने गरी गाई तथा भैसी पालनको क्षेत्रमा काम गर्न किसानहरुलाई प्रोत्साहन गर्ने, उन्नत जातको घास उत्पादनको लागि किसानहरुलाई सहुलियत दिने उनले बताए ।
विदेशमा कृषि फर्ममा काम गरेर आएका नागरिकहरुलाई बकैयामा आएर कृषि पेशामा संलग्न हुन चाहे गाउँपालिकाले सहयोग गर्ने उनको भनाई छ । कृषि पेशालाई प्रविधिमैत्री बनाउँदै लैजाने, उत्पादिन सामानको बजारीकरण गर्नुको साथै कृषि क्षेत्रको लागि आवश्यक रकम र प्रविधि आफुले भित्र्याउने उनले बताए ।
त्यस्तै पालिका उपाध्यक्ष भक्तबहादुर खत्री र कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले यस प्रकारको कार्यक्रमले युवा उद्यमशीलतालाई जोड दिनुको साथै, उत्पादन र त्यसको व्यवस्थापनमासमेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
तालिममा १२ वटै वडाका १०/१० जना गरीे कूल १२० जना सहभागी रहेका छन् । उनीहरुलाई विषयगत विशेषज्ञहरुले सहजिकरण गर्ने जनाइएको छ ।
उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बकैया जेसिजका अध्यक्ष रमेश फुयाल विभिन्न बैंकका प्रमुख एवम् प्रतिनिधिहरु, प्रशिक्षकहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष, धर्मराज लामिछाने
