वडा अध्यक्ष सत्याललाई प्रतिस्पर्धी भण्डारीको घोषणापत्र उपहार
मकवानपुर । मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि देशैभर दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । मकवानपुरका अधिकाँश स्थानीय तहमा जनप्रतिनिधि फेरिएका छन् भने केहीमा दोहोरिएका पनि छन् । स्थानीय तहको निर्वाचन होस् या अन्य, विगतलाई फर्केर हेर्ने हो भने एकाधबाहेक निर्वाचित र पराजित भएकाहरुबीच जनहितका कार्य सञ्चालन गर्ने सन्दर्भमा पनि खासै समन्वय/सहकार्य भएको पाइँदैन ।
निर्वाचित भएकाले पराजित भएका उम्मेदवारलाई बेवास्था गरेर अघि बढ्ने र पराजित भएकाहरुले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोचाई राख्ने गरेको पाइन्छ । तर, हालै सम्पन्न स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा पराजित उम्मेदवारले आफ्नो चुनावी प्रतिवद्धतापत्र नै निर्वाचित वडा अध्यक्षलाई हस्तान्तरण गरेर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
नेपाल विवेकशील पार्टीको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ को वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले वडा कार्यालयमा नै पुगेर वडा अध्यक्ष उद्धव सत्याललाई चुनावी घोषणापत्र हस्तान्तरण गरेर वडाबाट जनहितका लागि हुने जुनसुकै गतिविधिमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सत्याल नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
वडा अध्यक्ष सत्याललाई घोषणापत्र हस्तान्तरण गर्दै भण्डारीले भने ‘मैंले वडाबासीकै आवश्यकता र चाहानालाई मध्येनजर गरेर निकै लामो अध्ययनपश्चात यो घोषणापत्र तयार पारेको थिएँ । चुनाव प्राविधिक कुरा हो, मैले चुनाव जित्न नसकेपनि जनताको मन अवश्य जितेको छु । त्यसकारण अब हामी सबैको उद्देश्य वडाको विकास र वडाबासीको हित नै हो । हामी सबै मिलेर यो प्रतिवद्धता पुरा गरौँ । हामीले परिवर्तन चाहेको हो भने मैंले अवसर पाएँ/पाइन भन्दा पनि मेरो योजना वडाबासीको हितका निम्ति लागू भयो कि भएन भन्ने कुरा चाँही ठूलो कुरा हो ।’
उनले वडा अध्यक्ष सत्याललाई पार्टीप्रति मात्रै जिम्मेवार नभई समग्र वडाबासीको हितमा काम गर्न रचनात्मक सुझाव दिँदै त्यसमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सोही अवसरमा वडा अध्यक्ष सत्यालले पनि सबै जनताको बलमा आफु निर्वाचित भएको बताउँदै सबैलाई समेटेर सबैको मनोभावनालाई कदर गरेर अघि बढ्ने बताए । प्रतिस्पर्धी उम्मेदवारहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताउँदै उनले कार्यकालभरी वडाको विकासमा डटेर लाग्ने विश्वास दिलाए ।
यस्तो थियो भण्डारीको प्रतिवद्धतापत्र
भण्डारीले प्रतिवद्धतापत्रमा बृद्धबृद्धालाई भत्ता लिन बैँकसम्म जानको लागि वडाले इ–रिक्साको व्यवस्था गर्ने, बृद्ध, अशक्त, सुत्केरी महिलाहरुको सर्जिमिन गर्नुपर्ने अवस्था भएमा वडा सदस्यहरु र स्वयमसेवक परिचालन गरी सेवाग्राही नागरिकको घरदैलोमा नै पुगेर सेवा प्रवाह गरिने, सेवा प्रवाहमा एकद्वार प्रणाली लागू गरिने उल्लेख गरेका थिए ।
त्यस्तै सेवाग्राहीले आवश्यक कागजातहरु एक ठाउँमा बुझाएपछि सेवाग्राही प्रतिक्षालयमा आराम गरिरहेकै ठाउँमा कार्यसम्पन्न गरी सेवा प्रदान गरिने व्यवस्था मिलाउने, वडा कार्यालयको भवन लगायत वडाको विभिन्न २० वटा चोकलाइ फ्रि वाइफाइ जोन बनाउने, विद्युतीय खपत बढाउन एलपीजी ग्यास प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न हरेक परिवारलाई एउटा विद्युतीय चुलो (इन्फ्रारेड इन्डक्सन) ५ वर्षभित्रमा वडा नं.१७ मा रहेको सबै घरपरिवारमा निशुल्क वितरण गरिने उल्लेख थियो ।
त्यस्तै कृषितर्फ निर्वाहमूखी परम्परागत कृषि गरिरहेका किसानहरुलाई कृषि उद्यमी हुन प्रेरित गर्ने र आवश्यक कार्यक्रमहरु संचालन गर्ने, डिप बोरिङ र लिफ्टिङ मार्फत् सिँचाइ सुविधा उपलब्ध गराउने, कृषि तथा भेटरिनरी प्राविधिकद्वारा हरेक घर र कृषि फर्महरुमा नियमित (महिनामा एक वा दुई पटक) निरीक्षण वा जाँच गर्ने व्यवस्था गर्ने, वर्षमा २ पटक निशुल्क पशु जाँच शिविर सञ्चालन गर्ने, हटिया बाख्रापालनको लागि उपयुक्त भएकोले बाख्रापालन प्रवर्धनमा जोड दिने, परम्परागतरुपमा गर्दै आएको अन्य पशुपालनलाई विकास गर्ने उनको योजना थियो ।
भेटेरिनरी प्राविधिकको संख्या थप गरी निशुल्क पशु जाँच गराउने, औषधि पनि निशुल्क वा लागत मूल्यमा उपलब्ध गराउने, हेटौँडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन प्रयास गर्ने, लागत सहभागितामा आधारित अनुदान कार्यक्रमहरु जस्तै गोठ सुधार, टनेल निर्माण आदि कार्य गर्ने र कृषि सडक निर्माण कार्य विस्तार गर्ने पनि उल्लेख थियो ।
माटो परीक्षण गराई मेवा, केरा, कागती, च्याउ, कफीलगायत खेती प्रर्वद्धनमा प्रोत्साहन गर्ने, विषयगत व्यावसायिक कृषि तलिमहरु सञ्चालन गरिने, कृषि उपज संकलन केन्द्र तथा हाटबजार सञ्चालन गर्ने पशु ल्याब स्थापना गर्ने पत्रमा उल्लेख थियो ।
भण्डारीले शिक्षकहरुमा सीप विकासका लागि आवधिकरुपमा विषयगत तालिमहरुको व्यवस्था गर्ने, शिक्षण पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने, प्रधानाध्यापक तथा शिक्षकहरुले स्वनिर्मित वार्षिक लक्ष्यलाई आवधिक मूल्याकन गर्ने, लक्ष्य पूरा गर्ने शिक्षकहरुलाई पुरस्कृत गर्ने, सामुदायिक विद्यालयको गुणस्तर विकासको लागि विषयगतरुपमा आवश्यक शिक्षकहरुको व्यवस्थापन गर्ने, बालविकासको लागि अभिभावक शिक्षा अनिवार्य गर्ने, विद्यालयहरुलाई आधुनिक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने, सहायक लेखापाल, ईसीडी शिक्षक तथा सहयोगी कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नगर परिषद्मा प्रस्ताव गर्ने स्थानीय बालबोध माविमा इलेक्ट्रोनिक्स् तथा इलेक्ट्रिकल तथा सूचना प्रविधि विषय अध्यापनको प्रबन्ध मिलाउने बताएका थिए ।
त्यस्तै उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका थिए । उनले महिनाको एक पटक प्रत्येक घरमा एउटा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र हटियाम एमबीबीएस डाक्टर नियमित उपलब्ध गराउने, वर्षमा दुई पटक विषेशज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, आवधिक रुपमा शिविर सञ्चालन गरी प्राणायम, योग तथा व्यायाम गर्न सबै वडाबासीलाई प्रेरित र आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने उल्लेख गरेका थिए ।
उनले वडा कार्यालयबाट हुने सम्पूर्ण विकास निर्माणका कामहरु, अनुदान, सहयोग, सामाग्रीहरु सूचनापाटी र वडाको आधिकारिक सामाजिक सञ्चालको पेजबाट सार्वजनिक गर्ने, वडासँग माग गरिएका वडाको क्षेत्राधिकारभित्र भएका सूचनाहरु माग भएमा अबिलम्ब उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइने उल्लेख गरेका थिए ।
त्यस्तै वडा र नगरलाई सफा राख्न फोहोर व्यवस्थापनको काम गरिने बताए । ‘फोहोरबाट मोहोर’लाई नारामा सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गरिने, फोहोर छुट्याउने काम प्लास्टिकजन्य, सिसाजन्य र धातुजन्य फोहोरका लागि ३ वटा फरकफरक रङका बाल्टिनहरु वितरण गरिनुको साथै फोहोरको व्यवस्थापन निशुल्क गरिने भण्डारीले बताएका थिए ।
उनले सार्वजनिक जग्गा संरक्षण गर्ने, उपमहानगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा नगरकार्यपालिकामा सक्रिय भूमिका निर्वाह गर्ने, प्रादेशिक मन्त्रालय तथा विभागहरु १७ नं. वडामा ल्याउन पहल गर्ने, महिला नेतृत्व विकासको लागि विद्यालय तह र विश्वविद्यालय तहका विद्यार्थीहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठीहरू संचालन गर्ने, महिलाहरूलाई आर्थिक रूपमा सबलीकरणको लागि उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्ने, वडाको कम्तीमा ३ ठाउँमा फुटशल निर्माण गर्ने, खेलाडीहरूलाई फुटबल, ब्याडमिन्टनलगायत खेल सामाग्रीहरू उपलब्ध गराउने, टोलटोलमा ब्यायामको अभ्यास गराउने प्रतिवद्धतापत्रमा उल्लेख थियो ।
