वडा अध्यक्षका उम्मेदवार भण्डारी भन्छन्ः जनताले विकल्प खोजेका छन्
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु गाउँ/नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । विगतमा भन्दा यसपटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै छन् । तु खबरले विभिन्न पदमा उम्मेदवारी दिएका फरक–फरक व्यक्तिहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।
नेपाल विवेकशील पार्टी मकवानपुरको १०२ वटा वडामध्ये हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१७ मा मात्रै चुनावी प्रतिस्पर्धामा गर्दैछ । सो पार्टीबाट वडा अध्यक्ष पदका लागि कृष्णदेव भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारीको नेतृत्वमा वडा सदस्यहरु सविना बर्तौला पुजारी, कमला विश्वकर्मा, रविन सञ्जेल र सुरज थोकर सदस्य पदको उम्मेदवार छन् । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भण्डारी समृद्ध वडा निर्माणको लागि आफु योजनासहित उम्मेदवार भएकोे बताउँछन् ।
शिक्षासास्त्र संकायमा स्नातकसम्म अध्ययन गरेका भण्डारीको जन्म २०३५ सालमा भएको हो । बाबुराम र यमकुमारी भण्डारीको सन्तानको रुपमा जन्मिएका उनी २०४७ सालबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर करिब एक दशक कांग्रेसको राजनीतिमा क्रियाशील रहे । तत्कालिन हटिया गाउँ इकाइको विद्यार्थीको सभापति र २०६१ मा पार्टीको पालिका सचिवसमेत भएका उनी त्यसपछि झण्डै ६ बर्ष पार्टी राजनीतिभन्दा बाहिर बसे ।
२०७१ मा तत्कालिन विवेकशील नेपाली दल पार्टी दर्ता भएपछि उनी सोही पार्टीमा आवद्ध भएर राजनीतिमा पुनः सक्रिय भए । पुस्तक लेखन, प्रकाशन तथा वितरणको कार्यलाई निरन्तरता दिई उनले राजनीतिक यात्रालाई पनि सँगै अघि बढाए । हाल देशैभरका विद्यालयहरुमा भण्डारीद्वारा लिखित ४५ भन्दा बढी अंग्रेजी भाषाका पुस्तक पठनपाठन भइरहेको छ ।
शैक्षिक क्षेत्र उनको रुचीको क्षेत्र हो । लोटस एकेडेमीको संस्थापक प्रिन्सिपल भएर काम गरेका उनी हाल प्रशिद्धि बुक हाउस प्रा.लिको कार्यकारी प्रमुख हुन् । ओसन प्रकाशन प्रा.लि.को लेखक तथा भाषा सम्पादक भएर काम गरेका उनी हटिया बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष पनि हुन् ।
भण्डारीले आफु निर्वाचित भएपछि एकद्वार प्रणालीबाट जनतालाई सेवा प्रवाह गर्ने, विद्युत खपत बढाउन एलपीजीको प्रतिस्थापन गरी ब्यापार घाटा कम गर्न हरेक परिवारलाई विद्युतीय चुलो निशुल्क वितरण गर्ने, बृद्धबृद्धा, असक्त एवम् सुत्केरी महिलालाई स्वयम्सेवक परिचालन गरी घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने, वडाका मूख्य चोकहरुमा फ्रि वाइफाइ जडान गर्ने योजना रहेको बताए ।
त्यस्तै निर्वाहमुखी कृषि पेशामा आवद्ध कृषकलाई कृषि उद्यमी बनाउन योजनासहित काम गर्ने, वडामा सिंचाइको प्रबन्ध मिलाउने, भेटेरिनरी प्राविधिकद्वारा हरेक कृषि फर्महरुको निरिक्षण गर्ने, वर्षमा २ पटक निशुल्क पशु जाँच शिविर चलाउने, अनुदानको व्यवस्था मिलाउने, माटो परिक्षण गराएर उपयुक्त खेती लगाउन प्रोत्साहन गर्ने, कृषि उपज संकलन केन्द्र हाटबजार संचालन गर्ने, पशु ल्याब स्थापना गर्ने योजना रहेको भण्डारीले बताए ।
त्यस्तै शिक्षकहरुलाई विषयगत तालिम दिने, शिक्षण पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने, बालबालिकाको लागि अभिभावक शिक्षा अनिवार्य गर्ने, विद्यालयमा आधुनिक शैक्षिक सामग्री उपलब्ध गराउनुको साथै बालबोध माद्यमिक विद्यालयमा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल र सूचना प्रविधिसम्बन्धी विषय अध्यापनको प्रबन्ध मिलाउने भण्डारीको योजना छ ।
उनले महिनाको एक पटक प्रत्येक घरमा स्वास्थ्यकर्मीहरुको समूह गएर असक्त तथा बृद्धहरुको स्वास्थ्य परिक्षण गर्ने, स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर नियमित उपलब्ध हुने प्रबन्ध मिलाउने, वर्षमा २ पटक विषेशज्ञ डाक्टरहरुबाट महिलासँग सम्बन्धीत समस्या पहिचान गर्न निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, प्राविधिक रुपमा शिविर संचालन गरी प्राणयम, योग तथा व्यायाम गर्न सबै वडावासीलाई प्रेरित गर्ने, आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य बीमाकोे व्यवस्था गर्न सरकारले गरेको व्यवस्थाबारे नागरिकलाई जानकारी दिने योजना रहेको सुनाए ।

पूर्वाधार विकासको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने, वडावासीलाई शुद्ध पिउने पानीको प्रबन्धमिलाउने सार्वजनिक जग्गा संरक्षण गर्ने, हेटौंडा उपमहानगरलाई व्यवस्थित सहरको रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने, प्रादेशिक मन्त्रालय तथा विभाग वा अन्य कार्यालयहरु १७ नम्वर वडामा ल्याउन पहल गर्ने भण्डारीको योजना छ । खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुको साथै वडा कार्यालयबाट हुने सम्पूर्ण विकास निर्माणका कामहरु, अनुदान, सहयोग सामग्रीबारे पारदर्शीरुपमा जनतालाई जानकारी दिने उनले बताए ।
पुराना दलहरुले पटक पटक निर्वाचित भएपनि जनअपेक्षा अनुसारको काम गर्न नसकेको कारण अब जनताले विकल्प खोजेको भण्डारीको बुझाई छ । उनी अन्य पार्टीमा सक्रिय उम्मेदवार नभएको र ठूलो दल भएकोले जित हाम्रो हुन्छ भन्ने घमण्डले गर्दा जनहितका काममा ठूला दलको उम्मेदवारको ध्यान नगएको कारण अब जनताले वैकल्पिक शक्ति चाहेकोे उनी दावी गर्छन् । २०७४ को निर्वाचनमा हेटौंडाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले निर्वाचनपश्चात १७ नम्वर वडाको नेतृत्व लिन प्रयास गरिरहेका छन् । एक पटक वडा अध्यक्ष बन्ने मौका पाए जनहितको थुप्रै कार्य गर्ने योजना रहेको उनी बताउँछन् ।
