वडा अध्यक्षका उम्मेदवार चुनावी एजेण्डासहित घरदैलोमा

तु खबर संवाददाता
२०७९ बैशाख २६, सोमबार १५:४३

मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले घरदैलो र मतदाता शिक्षा अभियानलाई तीव्र पारेका छन् । मतदातासमक्ष पुगेर उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझाव संकलन गर्ने कार्यमा भण्डारी व्यस्त देखिएका छन् ।

भण्डारीले ठूला दलबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेकाहरुबाट जनहितका काम नभएको र आफुसँग काम गर्ने भिजन र जोश जाँगर भएकाले अब जनताले आफुलाई विश्वास गर्ने समेत बताए । एक पटक वडा अध्यक्ष निर्वाचित भए वडावासीको हितको लागि डटेर काम गर्ने भण्डारीले बताए ।

भण्डारीले चुनावी प्रतिवद्धतासमेत सार्वजनिक गरिसकेका छन् । सोही प्रतिवद्धता अनुसार वडा अध्यक्ष निर्वाचित भएपछि प्रभावकारी रुपमा काम गर्ने उनको योजना छ । ‘म जिते पनि हारे पनि वडामा नै रहने मान्छे हो । वडावासीको सुखदुखमा संगै रहने व्यक्ति हुँ । अरुलाई पटक पटक हेर्नुभयो, नेपाल विवेकशील पार्टीलाई एक पटक मौका दिनुहोस् कहिल्यै पछुताउनुपर्ने छैन ।’ भण्डारीले भने ।