हेटौंडा १७ नम्वर वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्रतिवद्धतापत्र सार्वजनिक

तु खबर संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १९:०४

मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगी उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझावसमेत संकलन गरी आफु वडा अध्यक्ष भएपछि गर्ने कामबारे प्रतिवद्धता तयार पारेको बताए ।

उनले बृद्धबृद्धालाई भत्ता लिन बैँकसम्म जानको लागि वडाले इ–रिक्साको व्यवस्था गर्ने, बृद्ध, अशक्त, सुत्केरी महिलाहरुको सर्जिमिन गर्नुपर्ने अवस्था भएमा वडा सदस्यहरु र स्वयमसेवक परिचालन गरी सेवाग्राही नागरिकको घरदैलोमा नै पुगेर सेवा प्रवाह गरिने, सेवा प्रवाहमा एकद्वार प्रणाली लागू गरिने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

सेवाग्राहीले आवश्यक कागजातहरु एक ठाउँमा बुझाएपछि सेवाग्राही प्रतिक्षालयमा आराम गरिरहेकै ठाउँमा कार्यसम्पन्न गरी सेवा प्रदान गरिने व्यवस्था मिलाउने, वडा कार्यालयको भवन लगायत वडाको विभिन्न २० वटा चोकलाइ फ्रि वाइफाइ जोन बनाउने, विद्युतीय खपत बढाउन एलपीजी ग्यास प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न हरेक परिवारलाई एउटा विद्युतीय चुलो (इन्फ्रारेड इन्डक्सन) ५ वर्षभित्रमा वडा नं.१७ मा रहेको सबै घरपरिवारमा निशुल्क वितरण गरिने उनले बताए ।

त्यस्तै कृषितर्फ निर्वाहमूखी परम्परागत कृषि गरिरहेका किसानहरुलाई कृषि उद्यमी हुन प्रेरित गर्ने र आवश्यक कार्यक्रमहरु संचालन गर्ने, डिप बोरिङ र लिफ्टिङ मार्पmत् सिँचाइ सुविधा उपलब्ध गराउने, कृषि तथा भेटरिनरी प्राविधिकद्वारा हरेक घर र कृषि फर्महरुमा नियमित (महिनामा एक वा दुई पटक) निरीक्षण वा जाँच गर्ने व्यवस्था गर्ने, वर्षमा २ पटक निशुल्क पशु जाँच शिविर सञ्चालन गर्ने, हटिया बाख्रापालनको लागि उपयुक्त भएकोले बाख्रापालन प्रवर्धनमा जोड दिने, परम्परागतरुपमा गर्दै आएको अन्य पशुपालनलाई विकास गर्ने उनको योजना छ ।

भेटेरिनरी प्राविधिकको संख्या थप गरी निशुल्क पशु जाँच गराउने, औषधि पनि निशुल्क वा लागत मूल्यमा उपलब्ध गराउने, हेटौँडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन प्रयास गर्ने, लागत सहभागितामा आधारित अनुदान कार्यक्रमहरु जस्तै गोठ सुधार, टनेल निर्माण आदि कार्य गर्ने र कृषि सडक निर्माण कार्य विस्तार गर्ने उनी बताउँछन् ।

वडाध्यक्ष निर्वाचित भएपछि माटो परीक्षण गराई मेवा, केरा, कागती, च्याउ, कफीलगायत खेती प्रर्वद्धनमा प्रोत्साहन गर्ने, विषयगत व्यावसायिक कृषि तलिमहरु सञ्चालन गरिने, कृषि उपज संकलन केन्द्र तथा हाटबजार सञ्चालन गर्ने पशु ल्याब स्थापना गर्ने उनको योजना छ ।

भण्डारीले शिक्षकहरुमा सीप विकासका लागि आवधिकरुपमा विषयगत तालिमहरुको व्यवस्था गर्ने, शिक्षण पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने, प्रधानाध्यापक तथा शिक्षकहरुले स्वनिर्मित वार्षिक लक्ष्यलाई आवधिक मूल्याकन गर्ने, लक्ष्य पूरा गर्ने शिक्षकहरुलाई पुरस्कृत गर्ने, सामुदायिक विद्यालयको गुणस्तर विकासको लागि विषयगतरुपमा आवश्यक शिक्षकहरुको व्यवस्थापन गर्ने, बालविकासको लागि अभिभावक शिक्षा अनिवार्य गर्ने, विद्यालयहरुलाई आधुनिक शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने, सहायक लेखापाल, ईसीडी शिक्षक तथा सहयोगी कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नगर परिषद्मा प्रस्ताव गर्ने स्थानीय बालबोध माविमा इलेक्ट्रोनिक्स् तथा इलेक्ट्रिकल तथा सूचना प्रविधि विषय अध्यापनको प्रबन्ध मिलाउने उनको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

भण्डारीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन् । उनले महिनाको एक पटक प्रत्येक घरमा एउटा स्वास्थ्यकर्मी गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र हटियाम एमबीबीएस डाक्टर नियमित उपलब्ध गराउने, वर्षमा दुई पटक विषेशज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, आवधिक रुपमा शिविर सञ्चालन गरी प्राणायम, योग तथा व्यायाम गर्न सबै वडाबासीलाई प्रेरित र आर्थिक रुपमा विपन्न नागरिकलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने बताए ।

उनले वडा कार्यालयबाट हुने सम्पूर्ण विकास निर्माणका कामहरु, अनुदान, सहयोग, सामाग्रीहरु सूचनापाटी र वडाको आधिकारिक सामाजिक सञ्चालको पेजबाट सार्वजनिक गर्ने, वडासँग माग गरिएका वडाको क्षेत्राधिकारभित्र भएका सूचनाहरु माग भएमा अबिलम्ब उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइने उल्लेख गरे ।

त्यस्तै वडा र नगरलाई सफा राख्न फोहोर व्यवस्थापनको काम गरिने बताए । ‘फोहोरबाट मोहोर’लाई नारामा सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गरिने, फोहोर छुट्याउने काम प्लास्टिकजन्य, सिसाजन्य र धातुजन्य फोहोरका लागि ३ वटा फरकफरक रङका बाल्टिनहरु वितरण गरिनुको साथै फोहोरको व्यवस्थापन निशुल्क गरिने भण्डारी बताउँछन् ।

उनले सार्वजनिक जग्गा संरक्षण गर्ने, उपमहानगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा नगरकार्यपालिकामा सक्रिय भूमिका निर्वाह गर्ने, प्रादेशिक मन्त्रालय तथा विभागहरु १७ नं. वडामा ल्याउन पहल गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै महिला नेतृत्व विकासको लागि विद्यालय तह र विश्वविद्यालय तहका विद्यार्थीहरूलाई नेतृत्व विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठीहरू संचालन गर्ने, महिलाहरूलाई आर्थिक रूपमा सबलीकरणको लागि उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्ने, वडाको कम्तीमा ३ ठाउँमा फुटशल निर्माण गर्ने, खेलाडीहरूलाई फुटबल, ब्याडमिन्टनलगायत खेल सामाग्रीहरू उपलब्ध गराउने, टोलटोलमा ब्यायामको अभ्यास गराउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

भण्डारीले शीर्ष दलहरुको प्रतिनिधित्व गर्दै नेतृत्वमा पुगेकाहरुबाट जनहितका काम नभएको र आफुसँग काम गर्ने भिजन र जोश जाँगर भएकाले अब जनताले आफुलाई विश्वास गर्ने बताए । चुनावी घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई जारी राखिएको उनको भनाई छ ।