फेरी सर्यो नवौं राष्ट्रिय खेलकुदको मिति

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १६:४६

काठमाडौं । यही जेठ महिनाको २२ देखि २८ गतेसम्मको लागि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरी सरेको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको जानकारी दिएको हो ।

खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । नयाँ मिति अनसार, उक्त प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिए ।

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भएको थियो । प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिव निश्चित थियो ।

नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत निर्णय यसअघि भइसकेको थियो ।