हेटौंडा १७ मा नेपाल विवेकशील पार्टीको घरदैलो अभियान जारी

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १३:२९

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ को वडा अध्यक्ष पदमा नेपाल विवेकशील पार्टीको तर्फबाट उम्मेदवारी दिएका कृष्णदेव भण्डारीले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले शनिबार पार्टीकी केन्द्रीय उपाध्यक्ष अनिता राईको उपस्थितीमा चुनावी अभियानलाई थप प्रभावकारी ढंगबाट अघि बढाएका हुन् ।

उनले हेटौंडा–१७ को विभिन्न टोलमा पुगेर मत मागिरहेका छन् । उनी जनताको घरदैलोमा पुगेर त्यहाँको समस्याबारे जानकारी लिने, सुझाव ग्रहण गर्ने कार्यमा व्यस्त देखिएका छन् । भण्डारीले आफ्नो चुनावी घोषणापत्र वितरण गर्ने र उल्लेखित बुँदामाथि व्याख्या विश्लेषण गरिरहेका छन् ।

‘जनताले पटक–पटक जिताएका उम्मेदवारहरुबाट धोका मात्रै पाएका छन् । निर्वाचनपूर्व जनतासामु प्रतिवद्धता गर्ने र चुनाव जितेपछि जनता विर्सने रोग पुरानै हो । त्यसकारण अब जनताले विकल्प खोजिरहेका छन् । मैले अघिल्लो स्थानीय निर्वाचनदेखि अभियान चलाइरहेको छु । माहौल राम्रो छ सबैको सहयोग पाए चुनाव जितेर जनताको पक्षमा काम गर्छु ।’ भण्डारीले भने । सबै सबैको घर दैलोमा पुगेको छु । चुनाव जिते मात्रै होइन, हारेपनि म उहाँहरुको घर आँगनमा फेरी पुग्छु । जनताले अब सबल सक्षम र गाउँको विकास गर्ने उम्मेदवगार चयन गर्ने बेला आएको छ । उनले थपे ।