मकवानपुरमा टाइफाइडविरुद्धको खोप आजबाटः स्वास्थ्यमन्त्री खतिवडाद्वारा अभियान प्रारम्भ हुने
मकवानपुर । राष्ट्रिय खोप अभियान अन्तरगत आजबाट मकवानपुरसहित देशैभर टाइफाइड रोगविरुद्धको खोप अभियान प्रारम्भ हुने भएको छ । १५ महिनादेखि १५ बर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग संक्रमणको संभावना उच्च हुने भएकोले पहिलो चरणमा आजबाट लक्षित बालबालिकाहरुलाई खोप प्रदान गर्न लागिएको हो ।
खोप अभियानबाट मकवानपुरका १ लाख ८ हजार बालबालिका लाभान्वित हुने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा मनहरी गाउँपालिका वडा नम्वर ५ स्थित भोजशिद्ध माविबाट जिल्लामा खोप अभियान प्रारम्भ हुँदैछ ।
खोप अभियान प्रारम्भ गर्न स्वास्थ्यमन्त्री खतिवडा गृह जिल्ला आइसकेका छन् । उनले विहान १०ः३० बजे भोजशिद्ध माविमा सम्बोधन गरेसँगै जिल्लामा खोप अभियान प्रारम्भ हुने बताइएको छ । आजैबाट मकवानपुरको बकैया गाउँपालिकाबाहेक सबै स्थानीय तहमा खोप अभियान अघि बढाइने भएको हो । मकवानपुरमा आजबाट प्रारम्भ भएको खोप अभियान बैशाख ९ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
अभियानका लागि आवश्यक खोपहरु पर्याप्त मात्रामा उपलब्ध भइसकेको र दक्ष स्वास्थ्य जनशक्ति, स्वयमंसेवकहरुको उपस्थितिमा तोकिएको केन्द्रमा बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने बताइएको छ । अधिकाँश खोप केन्द्र विद्यालयहरुलाई बनाइएको छ । विद्यालयसम्म पुग्न नसक्ने बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा पनि खोप लगाइने जनाइएको छ । यसअघि बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले र केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार नै खोप अभियानलाई औपचारिक रुपमा सुभारम्भ गरिसकेका छन् । आजैबाट बागमती प्रदेशसहित देशैभर खोप सेवा प्रवाह गरिँदैछ ।
