कोसेली नेपाली साँस्कृतिक परिवार यूकेको अध्यक्षमा थापा
बेलायत । कोसेली नेपाली साँस्कृतिक परिवार बेलायतको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विशेषगरी नेपाली भाषा, कला, साहित्य, गायत र नृत्यलाई निरन्तरता दिँदै आएको उक्त संस्थाले शनिवार साधारणसभा सम्पन्न गरेको हो । सोही अवसरमा रुबी थापाको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत मिन बानियाँले तु खबरलाई जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष थापाले आफुहरुलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई बढाउनुको साथै सबैको सहयोगमा सक्षम बनाउँदै प्रवासमा गीत, संगीतको मध्यमबाट नेपाली भाषा, कला र संस्कृति नयाँ पुस्तामा चिनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
पाचपुछ युकेका अध्यक्ष ओजस श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलायतस्थित दर्जनौँ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले सस्थाले गरेको काम अनुकरणीय रहेको बताएका थिए । प्रमुख अतिथि श्रेष्ठले कार्यसमितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।
कोसेली नेपाली साँस्कृतिक परिवार युके तेस्रो मुलुकमा स्थापना भएको पहिलो नेपाली संस्था मानिन्छ । संस्थाले बेलायतमा जन्मेका बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति गीत, संगीत सिकाउँदै आएको छ । संस्था सन् १९८६ मा बेलायत आएका मदनबहादुर थापाको नेतृत्वमा गठन भएको थियो ।
