तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १४:५९

मकवानपुर । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आइतबार दिउँसो साढे २ बजे उनी चिन प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका हुन् । यी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए।

यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए। शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो। विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। आइतबार स्वदेश फर्किनुअघि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूलाई भेटेका थिए।