टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित
काठमाडौँ । चार देशीय टी–२० सिरिज अन्तरगतको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन मात्र बनाएको हो । नेपालका लागि दिपेन्द सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए भने आसिफ शेखले ३४ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने लोकेश बमले ३३ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले ११ र शरद भेसवाकरले अविजित १० रन बनाएका थिए ।
त्यस्तै युएईका बलर रोहन मुस्तफा र काशिफ दाउदले २–२ विकेट लिए भने जुनैद सिद्धिकीले १–१ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । युएईका लागि चिराग सुरीले सर्वाधिक अविजित ८४ रन बनाएका थिए । सुरीले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाएका थिए ।
त्यस्तै युएईका रोहण मुस्तफा ४९ रन बनाएर आउट भएका थिए भने मुहमद वासीमले २२ रन बनाएका थिए । त्यस्तै बसिल हमीदले १७ र मोहमद बूटाले अविजित १४ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर शाहाब आलम, सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए । नेपालले अब सिरिजको अन्तिम खेलमा फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।
