आज श्रीपञ्चमी, देशैभर सरस्वतीको पूजा गरेर मनाइँदै
मकवानपुर । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गरेर मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिर तथा विद्यालय, पाठशालाहरुमा पूजा गर्नेहरुको चहलपहल छ । कोरोना संक्रमणको जोखिमका कारण भौतिक उपस्थितिमा पठनपाठन संचालनमा रोक लगाइएको विद्यालयहरुमा पनि आज विहानैदेखि विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा पुजाआजा भइरहेको छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थान् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
