उत्कृष्ट लोगो र स्लोगान बनाउने पराजुली र समर्पण पुरस्कृत

तु खबर संवाददाता
२०७८ माघ १४, शुक्रबार १८:३७

मकवानपुर । प्रदेश युवा परिषद्को कार्यालय बागमती प्रदेशले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत कार्यालयको लोगो र स्लोगान निर्माण गरेको छ । उत्कृष्ट लोगो र स्लोगान बनाउनेलाई शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कृतसमेत गरिएको छ । परिषद्ले विभिन्न तीन चरणमा लोगो र स्लोगानको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ ३/३ जना छनौट भएका थिए । उनीहरुमध्ये उत्कृष्ट स्लोगान लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई परिषद्ले पुरस्कृत गरेको हो । लोगो तथा स्लोगान छनौट समितिमा प्राध्यापक डा.शकंर उपाध्यय, साहित्यकार निमेष निखिल, पत्रकार गिरिजाप्रसाद अधिकारी र अधिवक्ता ऋषि केबी रहेका थिए ।

छनौट समितिको निर्णयले पराजुली र सुवेदी पुरस्कृत भएका थिए । स्लोगानतर्फ केशव सर्मपण सुवेदीले लेखेको ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण’ स्लोगन उत्कृष्ट ठहरिएको थियो भने निश्चल पराजुलीले बनाएको लोगो उत्कृष्ट भएको थियो । उत्कृष्ट लोगो बनाउने पराजुलीलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो भने स्लोगानतर्फ केशव सर्मपण सुवेदीलाई नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । पुरस्कृत दुबैजनालाई परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, छनौट समितिका गिरिजा अधिकारी, कार्यालयका निमित्त प्रमुख रमेश घिमिरेलगायतले सम्मान प्रदान गरेका
थिए ।

युवाहरुको हकहितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरणमार्फत् शिक्षा, सीप, उद्धमशीलता र रोजगार प्रर्वधन गर्ने उद्धेश्यका साथ प्रदेशको युवा तथा खेलकुद मन्त्रालयअन्तरगत प्रदेश युवा परिषदको कार्यालय स्थापना गरिएको हो । प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐन र नियमावलीसमेत जारी गरी कार्यान्वयन गरिसकेको छ । सोही ऐन अनुसार स्थापित प्रदेश युवा परिषद्को कार्यालयले स्थापनाको छोटो समयमा कार्यालय स्थापनाका साथै प्रदेशको १३ वटै जिल्लामा जिल्ला शाखा गठन गरिसकेको प्रदेश युवा परिषद्को कार्यालयका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।