आइतबारदेखि संघीय संसद्को बैठक बस्ने
काठमाडौँ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक–पटक स्थगित भएको संघीय संसद्को बैठक आइतबारदेखि पुनः संचालन हुने भएको छ । प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको हो । तर संक्रमणको जोखिम कायमै रहेको कारण बैठक बस्ने वा नबस्ने तय भने भइसकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन् । दलहरुबीच संसद् सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको हो ।
