हेटौंडामा राष्ट्रियसभाको निर्वाचन जारी (फोटो फिचर)

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १३:२४

मकवानपुर ।  बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचन हेटौंडामा जारी छ । हेटौंडा ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा भइरहेको मतदानमा यो समाचार तयार पार्दासम्म ३०० सय मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

विहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन पानी परेपछि केही बेर ढिला गरी सुरु भएको थियो । बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जना चुनावी मैदानमा छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीबाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् ।

विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुखर उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्ने छन्। मतदान स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कोरोनाविरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको छ । मतदानको लागि २ वटा केन्द्र स्थापना गरिएको छ ।