माघी पर्वमा ३ दिन सार्वजनिक विदाको माग

तु खबर संवाददाता
२०७८ पुष २९, बिहीबार १५:२२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वमा तीन दिन सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् । उनीहरूले सार्वजनिक विदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।

“बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा विदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भने, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।” नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र विदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताए ।