नकौलीमा विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ नकौलीका १ सय ७० जना विद्यार्थीलाई जाडो मौसममा न्यानो कपडा वितरण गरिएको छ । शत प्रतिशत तामाङ समुदायका बालबालिका अध्ययन गर्ने नकौलीको कालिका आधारभूत विद्यालयका १ सय ७० जना विद्यार्थीलाई आइतवार स्वीटर वितरण गरिएको हो । सन अफ लाईफका सदस्य एवम् स्वास्थकर्मी राजु गुरुङ्गको सहयोग तथा हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपानेको समन्वयमा विद्यार्थीलाई स्वीटर प्रदान गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सविन न्यौपानेले उपमहानगरपालिका भैकन नकौली पिछडिएको गाउँ भएको बताए । यहाँ अधिकाश तामाङ समुदायको बसोबास रहेको बताउँदै जाडोको समयमा न्यानो कपडाको अभावमा विद्यार्थी समयमा विद्यालय नआउने समस्यालाई अबका दिनमा समाधान हुने बताए ।
न्यानो कपडा वितरण गर्दै सहयोगी राजु गुरुङ्गले सस्थाले जिल्लाका विभिन्न विधालयमा सहयोग पुर्याउँदै आएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुकदेव काफ्लेले विधालयमा शतप्रतिशत तामाङ विद्यार्थी अध्ययन गर्ने गरेको बताए । आर्थिक अवस्था नाजुक रहेका विद्यार्थीहरु जाडोकै कारण विधालय अनुपस्थित भैरहेका अवस्थामा सहयोगीदाताबाट विद्यार्थीलाई न्यानो कपडा सहयोगले राहत महसुस भएको भन्दै सहयोगीलाई धन्यवाद दिए ।
