बकैयाका ८७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
मकानपुर । डिभाइन युथ क्लवले मकवानपुरको बकैया गाउँपालिकाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले बकैया–६ मोरङ्गधापको सगरमाथा प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो । क्लबले विद्यालयमा पढ्ने ८७ जना विद्यार्थीहरुलाई सुइटर र टोपी वितरण गरेको हो ।
बकैया गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष फुलबहादुर भोम्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर पाख्रिन, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रबिन्द्र पाख्रिन र प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतान लगायतले उक्त न्यानो कपडा वितरण गरेका थिए । विद्यालयमा माखलो ज्यामिरे, बडार खोला, मोरङ्गधाप लगायतका गाउँहरुबाट विद्यार्थीहरु पढ्न आउने गरेको विद्यालयकी प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतानले बताइन् ।
आर्थिक रुपले विपन्न रहेका विद्यार्थीहरु जाडोमा न्यानो सुइटर, टोपी पाएपछि खुसी भएका थिए । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक सागर पन्थीले बताए । डिभाइन युथ क्लव हेटौंडाले यसअघि राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायलाई ब्ल्याङकेट वितरण गरेको थियो ।
