इन्द्रसरोवरका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार ०९:४७

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिकाले संचालन गर्दै आएको वार्षिक कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाले ‘सबैको ध्यान, जेष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ संचालन गर्दै आएको सो कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका असहाय एकल महिला र दलित तथा “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वाथ्य परिक्षण, औंषधी र न्यानो कपडा वितरण गरेको गाउँपालिकाको अध्यक्ष जीवन लामाले बताए ।

गाउँपालिकाले आन्तरिक बजेटको व्यवस्था गरी जेष्ठ नागरिकको कार्यक्रमलाई दिगो रुपमा जाने कार्यक्रमको रुपमा निर्धारण गरेको छ । सो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यस आर्थिक वर्षमा ६ सय ६ जनालाई न्यानो कपडा वितरण गरेको छ भने ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार, जेष्ठ नागरिकलाई न्यानो बनाउने मात्र नभई उनीहरुको स्वास्थ्यलाई समेत मध्येनजर गर्दै गाउँपालिकाले निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको हो ।

गाउँपालिकाले यहि पुस १ गतेदेखि ५ गतेसम्म लगातार वडा नम्बर १ देखि ५ सम्ममा क्रमशः १ सय ४०, १ सय २४, १ सय ४७, ७७ र १ सय १८ गरी औपचारिक कार्यक्रम मार्फत नै ६ सय ६ जनालाई न्यानो कपडा अन्तर्गत ब्ल्यङ्केट वितरण गरेको हो । यस वर्षको जेष्ठ नागरिक लक्षित कार्यक्रममा गाउँपालिका भित्रका जेष्ठ नागरिक तथा “क” वर्गका अपाङ्गता भएका व्यक्तिहरुको जम्मा लक्षित संख्या ८ सय ६६ जना रहेका छन् । औपचारिक कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुका लागि गाउँपालिकाको ५ वटै वडाले समन्वय गरी लाभग्राही समक्ष पुर्याउने गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको भनाइ रहेको छ ।