इन्द्रसरोवरमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन

तु खबर संवाददाता
२०८० चैत्र २३,शुक्रबार ०९:४६

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ स्थित चन्द्रगढी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

गाउँपालिका र जिल्ला समन्वय समितिको संयुक्त लगानीमा निर्माण गरिएको सो भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले उद्घाटन गरेका हुन् ।

निर्धारित समयभन्दा ३ वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको उक्त भवन करिब ७५ लाख रुपैयाँ लगानीमा बनेको हो । नवनिर्मित २ तल्लाको भवनमा ६ वटा कोठा छ ।

भवन उद्घाटनको अवसरमा स्वास्थ्य केन्द्रका लागि जग्गादातालाई सम्मान समेत गरिएको थियो । स्वास्थ्य केन्द्रका लागि बाटुली बल र बुद्धिमाया बलले ९ कठ्ठा र पेमा लामाले १ कठ्ठा जग्गा दान गरेका थिए ।

वडा अध्यक्ष दुधराज तितुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण (डिके) पुडासैनी, उपाध्यक्ष उमाकुमारी लामा, गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामालगायतको आतिथ्यता रहेको थियो ।