विद्यार्थीहरुले गरे महिला मिलन सहकारीको अवलोकन

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार १३:५६

मकवानपुर । हेटौंडाको तुलसी मेहर मेमोरियल स्कुल (सार्क ओपन स्कुल) का विद्यार्थीहरुले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेका छन् । विद्यार्थीहरुलाई पुँजीको परिचालन र प्रर्वद्धनबारे जानकारी प्रदान गर्ने उदेश्यका साथ सहकारी संस्थाको अवलोकन गराइएको हो ।

कक्षा ८ मा अध्ययनरत ६२ जना विद्यार्थीहरुले सामाजिक अध्ययन र जीवनउपयोगी सीपसंग सम्बन्धित भई सहकारी संस्था संचालन, पुँजीको परिचालन तथा प्रर्वद्धन, सहकारीको काम, कर्तव्य र आम नागरिकप्रतिको उत्तरदायित्वलगायत विषयमाथि अध्ययन गर्नुको साथै, सहकारीको सूचना कक्ष, नगद तथा चेक सटही काउन्टर र तालिम हलको अवलोकन गरेको कलेजका सामाजिक विभागका सन्दिप न्यौपानेले जानकारी दिए ।

सहकारीको अध्यक्ष विष्णुमाया लामा, व्यवस्थापक फूलमाया मोक्तान र शिक्षा समिति संयोजक सर्मिला दोङ्ले विद्यार्थीहरुलाई सहकारी संस्थाले आम समूदायमा पारेको प्रभाव तथा व्यक्ति, परिवार र समुदायमा पुर्याएको योगदानबारे जानकारी दिएका थिए । यस्ता अध्ययन, अवलोकमार्फत् विद्यार्थीको व्यवहारिक र व्यवसायिक क्षमताको विकास गराउँदै उनीहरुलाई भविष्यमा दक्ष जनशक्तिको रुपमा स्थापित गराउने विद्यालयको लक्ष्य रहेको छ । अध्ययन अवलोकनका विषयलाई विद्यार्थीको प्रयोगात्मक शिकाई मुल्याङ्कनमा समावेश गरिने सिईयो लक्ष्मण बस्नेतले बताए ।

विद्यालयले यसअघि विद्यार्थीहरुलाई हेटौंडाको पदमपोखरीस्थित वनस्पती उद्यान, ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रमा अवलोकनको लागि लगेको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने कलेजका कार्यक्रम निर्देशक किशन वास्तोलाले बताए ।